बाको गोडा

एकातिर एमफिलको अन्तिम सत्रको शोधपत्र बुझाउनुपर्ने समयसीमा सकिन लागिसकेको थियो भने अर्कातिर बुबालाई अस्पतालमा राखेको पनि दोस्रो हप्ता भइसकेको थियो । अस्पतालको बसाइमा नै केही पढ्नैपर्ने बाध्यता थियो । बिहान आठबजेतिर बिरामी राखेको वार्ड सफा गर्ने समय भएकाले बिरामी कुरुवाहरु सबै जना आधा घन्टा जतिका लागि बाहिर जानुपर्ने भयो । अस्पतालको कोरिडोर निकै व्यस्त थियो । बिरामी र बिरामीका आफन्तहरु आशाका ससाना दीप बाल्दै यताउता गरिरहेका थिए । म अस्पतालअघिको सानो बगैँचाको पर्खालमा बसेर किताब पल्टाइरहेको थिएँ । परबाट ट्रलीको नमिठो खट्याङट्याङ आवाज मतिरै आइरहेको थियो । रातको निद्रा पनि आँखाभरि सिङ्गै बाँकी रहेकाले होला, किताबतिर ध्यान जान सकिरहेको थिएन । त्यो बिग्रेको ट्रलीको नमिठो आवाज मनेरै आइपुग्यो । मैले त्यसमाथि नमिठो दृष्टि फ्याकेँ– डस्टबिनको कालो धोक्रो बोकेर आइरहेको थियो, त्यसमाथि सेतो प्लास्टिक थियो, मेरो दृष्टि पर्नगयो । म हातको पुस्तक फ्यात्त भुइँमा फ्याकेर जुरुक्क उठेँ । त्यसभित्र एउटा काटिएको गोडा थियो, नियालेर हेरेँ– त्यो मेरै बुबाको गोडा थियो, त्यसै रात मेरो बुबाको गोडा काटिएको थिएन, अपरेसन गरिएको थियो । (म यसैमा विस्वस्त थिएँ) राती हामीलाई हेर्न दिइएको थिएन । खाली पट्टी लगाइएको खुट्टा लिएर सुतिरहनुभएको बुबालाई पोस्ट अपरेसन वार्डमा लगेर देखाइएको थियो । त्यो सेतो प्लास्टिकमा बेरिएको बुबाको असाहय खुट्टा मैले एकै झमटमा चिनिहालेँ किनभने त्यो खुट्टा मैले तिस वर्षदेखि देखिरहेको खुट्टा थियो । त्यसै खुट्टामाथि मेरो खुट्टा टेकेर मैले ताते ताते गर्न सिकेको थिएँ, त्यसै खुट्टाको पछि पछि म पहिलो पटक स्कुल गएको थिएँ, त्यसै खुट्टाको पछि पछि म कति पटक बजार गएको थिएँ, त्यसै खुट्टाको पछि पछि झोलामा मकैको बिउ हलोको सियोमा हाल्दै कति हिँडेको थिएँ । मलाई त्यो खुट्टा मेरो खुट्टा जत्तिकै परिचित थियो, त्यो सधैँ बुबाको कम्मरमुनि रहेको गोडा थियो तर आज त्यो बुबाको शरीरबाट त्यो विच्छेद भएको थियो, एक्लै सेतो प्लास्टिकको झोलाभित्र बिग्रेको ट्रलीमा सवार थियो । त्यसले बुबाको शरीर मात्र छाडेको थिएन अब मेरो साथ पनि छाड्दै थियो । त्यो बुबाको शरीरसँग हुँदा जस्तो फुर्तिलो गोडा थिएन, रातो रातो भरभराउँदो थिएन, त्यो पहेँलिँदै गएको थियो, ओइलाउँदै गएको थियो । मैले त्यसलाई चिनेँ तर त्यसले मलाई चिनेन । म नजिकै उभिरहेको थिएँ तर त्यसले मलाई अपरिचित जस्तै गरी वास्तै गरेन । ट्रलीको नमिठो आवाजसँगै त्यो मबाट टाढा हुँदै गयो । म अलिपर सम्म पछ्याउँदै गएँ । मलाई त्यो झोला खोलेर बुबाको गोडा मुसार्न मन थियो, त्यसको सेवा गर्ने र त्यसमा प्राण मन थियो तर म धेरै चलमलाउन सकिरहेको थिइनँ । त्यो टाढा हुँदै गयो, मेरो दृष्टिले पछ्याइरह्यो तर मेरो शरीर करिब जमिसकेको थियो । म त्यसको पछि पछि जान सकिनँ, बगैँचाको छेउमा जमिसकेको थिएँ, डिलमा उभ्याइएको मूर्तिजस्तै म एकोहोरो हेरिरहेको मात्र थिएँ ।

यो घटना भएको एक दशकपछि गत वर्ष म एम ए, अङ्ग्रेजी तेस्रो सत्र, एकेडेमिक राइटिङको परीक्षा दिइरहेको थिएँ । त्यस पत्रमा हामीले पढ्नुपर्ने चाङ री ली नामक कोरियाली–अमेरिकाली लेखकको ‘‘कमिङ होम’’ शीर्षकको निबन्धबाट प्रश्न सोधिएको थियो । यस निबन्धमा कोरियाली खाना, संस्कृतिका माध्यमबाट रोगी आमाको विस्मृतिगत संवेदना कुँदिएको छ । यसमा जस्तै खाना–संस्कृतिसँग जोडेर आफ्नो अभिभावक वा परिवारको विस्मृतिका सम्बन्धमा एउटा लेख तयार गर्नुपर्ने प्रश्न थियो । मैले एक दशकअघि बित्नुभएको मधुमेहका रोगी बुबाको स्मृतिलाई विषय बनाएर निबन्ध लेख्न थालेँ । निबन्ध लेख्दै जाँदा बुबाको विस्मृतिले मेरा आँखा सजल भए । खाली हातले आँसु पुछेँ, निकैबेर आँखा चिम्लेर बसिरहेँ ।

बुबालाई गुलियो कुरा असाध्यै मन पथ्र्यो । पथरीमा आइतबार र बिहिबार हप्ताको दुई दिन हाट लाग्ने गथ्र्यो । प्रायः हाटको दिन बुबा बजार जानुहुन्थ्यो र फर्केर आउँदा जुलवी लिएर आउनुहुन्थ्यो । आधाजति बुबा एक्लै खानुहुन्थ्यो अनि बाँकी आधा भाग हामी चार जना बाँडेर खान्थ्यौँ, त्यतिले हामी अघाउँथ्यौँ तर बुबाको तृप्ति पूरा नभएजस्तो देखिनुहुन्थ्यो । जति पाए पनि खान सक्नुहुन्थ्यो अनि पच्थ्यो पनि, कहिल्यै धेरै गुलियो खाएर बिरामी परेको थाहा भएन । अहिले पनि म पथरी बजार जाँदा हलुवाइवालो पकाउने गरेको जुलवी सम्झिने गर्छु तर त्यसरी खाइहाल्दिनँ । मलाई गुलिया कुरा मन पर्ने भए पनि अपहत्ते हुँदैन ।

समय क्रममा म काठमाडौँतिर आएँ । बुबाको त्यो बानी बुबासँग टाढा हुँदै गयो तर मेरो स्मृतिमा बुबाको जुलेवीप्रेम बिर्सन सक्ने कुरै थिएन । नियतिको खेल पढ्न भनेर आएको मान्छेलाई होटलमा खाना बनाउने कुक बनाइदियो, म तालिम लिएर होटलमा काम गर्न थालेँ । त्यहाँ मिठाइ बनाउने छुट्टै सेक्सन थियो, त्यसको कुक अलग्गै थिए । बुबाको त्यो जुलवीप्रेमले मलाई पनि जेरी बनाउन सिक्न प्रेरित ग¥यो । अब यता आउँदा जुलवी जेरी भइसकेको थियो । जुलवी भए पनि जेरी भए पनि एउटै थियो, गुलियोपन उही थियो । मैले जेरी बनाउन सिकेँ, त्यसमा बुबाको जुलवीप्रेमले काम गरेको थियो ।
एम ए पढ्न आएको मान्छे होटलमा कुक बनेर जागिर खान थालेको थिएँ । कामको व्यस्तता धेरै थियो तर कमाइ खासै थिएन । विदेश गए राम्रो कमाइ हुन्छ भन्ने विश्वासले दुःख गरिरहेको थिएँ । जागिर सँगैसँगै म्यानपावर एजेन्सी धाउने काम चलिरहेको थियो । राम्रै ठाउँमा जाऊँ न त भन्ने मनशायले भिसा लागिरहेको थिएन तर यता समयले केही वर्षको नेटो काटिसकेको थियो । कमाइ नभएको हो कि वा होटलमा बिदा नपाएर हो म केही वर्षदेखि घर गएको थिइनँ । कम्तिमा पनि राम्रो ठाउँको भिसा लागेपछि मात्र जाने हो भन्ने रहर थियो । यसले गर्दा केही वर्ष बितेको पत्तै भएन ।
केही वर्षपछि बिदा मिलाएर म घर गएँ । कलङ्कीमा नाइट बस चढेदेखि नै बुबालाई जुलवी बनाएर खुवाउने सपना सजाइसकेको थिएँ । अब त किनेर खुवाउनु पर्दैनथ्यो, म आफै बनाएर बुबालाई मन लागेजति खुवाउने छु । यस्तै विचार गर्दागर्दै भोलिपल्ट बिहान घर पुगेँ । मेरो योजनालाई अलि गोप्य राखेर बुबालाई सरप्राइज दिने विचार आयो । भोलिपल्ट दिउँसो बुबा र आमा दुवै जना बाहिर जानुभएको समयमा मैले जुलवी पकाएँ । नाङ्लाभरि जुलवी फिँजाएर राखेँ अनि बुबा आउने प्रतीक्ष गर्न थालेँ । साँझतिर उहाँहरु आउनु भयो । म खुसी हुँदै योजनाअनुसार बुबाको अघि एक नाङ्लो जुलवी राखिदिएँ । उहाँहरु छक्क पर्नुभयो, ‘‘कहाँबाट ल्याएको यति धेरै जुलवी’’ बुबाले भन्नु भयो । ‘‘मैले पकाइको नि, तपाईंलाई धेरै मन पर्ने भएकाले मैले होटलमा सिकेर आएको छु, अनि यही घरैमा पकाएको, लु खानुस्, बुबा मन लागेजति जुलवी खानुस्’’ मैले रोमाञ्चित हुँदै भनेँ । बुबाले आमाको मुहारतिर हेर्नुभयो, कुनै प्रतिक्रिया दिनुभएन । मैले आफ्नै हातले टिपेर उहाँको मुखैनिर पु¥याइदिएँ, किनभने म आज बुबालाई अघाउन्जेल जुलवी खुवाउन चाहन्थेँ । आमाले गाली गर्दै भन्नुभयो, – ‘‘के पकाएको यो ? बुबाले खानु हुन्छ त ?’’

के भएको छ र, बुबालाई ?’’
‘‘यी हेर्न रिपोट, भर्खर जचाएर आएको, चिनी रोग भएछ ।’’ आमाले विस्मित हुँदै भन्नुभयो । ‘‘अब गुलियो कुरा खाँदै नखानु भनेका छन्, डक्टरले ।’’
मैले कति लामो समयदेखि बनाएको योजना आज कस्तो विडम्बनामा फँसेको थियो । मैले बुबाको जुलेवीप्रेमकै कारण तातो तेलले कतिपटक हात पोल्दा पनि जेरी बनाउन सिकिछाडेको थिएँ । हलवाइवाला त्यति सजिलै सिकाउने वाला पनि थिएन । ‘‘तिमीलाई सिकाए पनि मेरो जागिर धरापमा परिहाल्छ नि’’ भन्ने ग भन्ने गथ्र्यो, सधैँ । मैले धेरै खुसामत गरेर सिकाइमागेको थिएँ । किनभने मलाई घर गएर बुबालाई धित मरुन्जेल जुलवी खुवाउनुथियो । त्यसै योजनाअनुसार मैले आज यति धेरै जुलवी पकाएर बुबाको अघि राखिदिएको थिएँ । बुबाको मुहार विस्मृत थियो, मनभरि जुलवी खाने रहर उम्लिरहेको थियो । मैले मुखैमा जुलेवी पु¥याउँदा त्यो मुख आफै खुलेर एक गाँस चपाइहाल्यो पनि तर आमाले गाली गर्दै डाक्टरको कुरा सम्झाउनुभयो । त्यो नाङ्लोभरिको जुलवी त्यसै घुङ्रिङ परेर बटारिरहेको थियो । त्यसमाथि चिल्लो गुलियो टल्किरहेको थियो तर अब बुबाले कहिल्यै पनि त्यो गुलियो जुलवी खान नहुने भएको थियो । उहाँको जीवनको सबैभन्दा ठूलो रहर थियो– जुलवी खाने तर त्यो आजबाट रोकिएको थियो, मधुमेहका कारण गुलियो खान नहुने भएको थियो ।
त्यसवेला देखिएको मधुमेह नै बुबाको गोडा काट्नुपर्ने कारक तत्त्व बन्यो, करिब बाह्र वर्षपछि । गोडा काटेर पनि उहाँको जीजिवीषा बाँकी छँदै शरीरले प्राण धान्न सकेनँ । एघार वर्षपछि पनि त्यो काटिएको गोडा ट्रली चढेर गइरहेको विस्मृति हराउन सकेको छैन, बरु यस्तै यस्तै अवसरमा नवीकरण भइरहन्छ । बुबाको आत्मालाई शान्ति मिलिरहोस् !

लेखक: डा. जीवन जीवन्त

शिक्षक, नेपाली बिभाग

One thought on “बाको गोडा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *