( कविता )
हे युवा, तिमीले बालक हुदाँ देखेका सपना,
के जहाजसँगै उडेर गए र ?
शिक्षकले दिएको त्यो ज्ञान,
के विदेश कै लागि सिमित बनेको थियो र?
होइन भने,
फेरी किन तिमीले पनि अरूले नै रोजेको बाटो रोज्यौ,
किन तिमीले आफ्नो मृत्युलाई आफैँले बोलायौँ ?
के तिमीले देख्यौँ र ? आमाका आँसु जुन तिम्रालागि खसेका थिए,
जुन हातले तिमीलाई हुर्काएका थिए,अहिले तिम्रो मुहार सुम्सुमाउने पर्खाइमा बसेका थिए ।
युवा, तिमी फर्किएर आयौँ के तिमीसँगै तिम्रा सपना पनि फर्किएर आए,
के थाहा छ तिमीलाई ? तिमी फर्किएर आउँदा आफन्तले केवल रोदन पाए ।
तिमी यसरी फर्किएर आयौँ कि अब तिमीलाई आभास मात्र गर्न सकिन्छ,
अब केबल तिम्रा मिठा यादहरू सङ्गालेर बाच्न सकिन्छ ।
थाहा छ तिमीलाई तिम्रा ति सुन्दर सपना तिमीसँगै जलेर गए,
तिम्रा ति सपना अब कहिल्यै देखा नपर्ने गरी ओझेल भए ।
जुन माटोले तिम्रा सपनालाई जीवीत राखेको थियो,
आज त्यही माटोले तिम्रा सपनालाई आफैँभित्र नै दबायो ।
तिमीले आकाशमा तिम्रो लागि ठाउँ खोज्दै गर्दा,
सायद तिम्रा सपनाले पनि खोजेका छन्,
जुन सपना पुरा गर्नको निम्ति उड्यौँ त्यही सपनाले आज,
आमाको कोख रित्याएका छन् ।
यस्तो लाग्छ, तिम्रो सपना त विदेशमै बेचिए,
कसरी भनु र म तिम्रा सपना तिमीसँगै फर्किएर आए ।
तिमी आफैँ त लास भएर आएको, के तिम्रा सपना जीवीत नै थिए र ?
जब तिम्रा लागि त्यो सासले त पर्खेन, के ति सपनाले पर्खिए होलान् र ?
हुन सक्छ तिमी उड्दै गर्दा ति सपना पनि उडेका थिए,
जुन सपनाले तिमीलाई संसारबाट बिदालिन बाध्य गराए ।
न त तिमी नै उठ्न सक्यौ, न त तिम्रा सपना नै उठ्न सके,
कस्ता रहेछन् ति सपना जुन सपना श्राप नै साबित भए ।
आज तिमीले यो धर्ती छोड्दै गर्दा, आमा आशुँले भिजेकी छन्,
सपना पुरा गराउन भनि उडाएकी तिमीलाई आफ्नै कोख रित्तो पार्न रहेछिन् ।
तिम्रो निधारको रातो टिका अनि तिमी बिमानमा उड्दै गरेको त्यो क्षण सम्झिदै छिन्,
हातमा झण्डा बोकेर सगरमाथामा गाड्ने ति सपनालाई त्यो जल्दै गरेको लासभित्र खोज्दै छिन् ।
तर अब त्यो झण्डा फरफराउन, न त तिम्रा हात रहेका छन् न त तिम्रा सपना नै,
देशलाई नि फेर्नुपर्छ, सक्छौँ भने परिवर्तनको नाममा विकास बनेर फर्किएर आउन हैँ ।
यस्तो बनाई देउ, कि मेरो देश अब युवाले आफ्ना सपना विमानसँगै उडाउनु नपरोस्,
तिमी जस्तै अब अरूले विदेशमा अल्पायु मै ज्यान गुमाउन नपरोस्,
तिमी हराउदा आमाले तिम्रा सपनालाई खोज्न नपरोस् ।
रोजगारीका लागि विदेश जान छोडौं, देशमै केही गर्यौ ,स्वरोजगार बनौँ र देशलाई समृद्ध बनाऊ ।