एस.ई.ई. पछिको पढाइमा मेरा पुराना साथीहरू मसँग थिएनन् । भर्खरै काठमाडौं आएको मैले न त कलेजमा कसैलाई चिनेको थिएँ, न त छरछिमेकमा नै । मित्रता गाँस्न पनि हम्मे हम्मे पर्छ कि? जस्तो लाग्न थालेको थियो । कलेज पुगेर थाहा भयो, कानूनको सङ्कायमा दुई थान सेक्सन मात्र रहेछन् । केही दिनमै आफ्ना सहपाठी त परिचित भए नै, एम टु (कक्षा १२) का विद्वान मित्रहरूसँग पनि चिनजान हुन थाल्यो ।
परिचयको प्रसङ्ग पनि रमाइलो छ । आफ्ना सेक्सनका साथीहरुसँग खरायोको तालमा चिनजान गरेको मैले, एम टुका सबैजनासँग कछुवाको तालमा मित्रता गाँस्दै थिएँ । सिनियरहरूमध्ये पाण्डेजी र सुवेदी सरसँग राम्रो चिनजान भयो । पाण्डेजी र मेरो भ्यान यौटै थियो, सुवेदी सर र मेरो गोत्र यौटै । यी कुरा मिलेझैँ अन्य कुरा पनि मिल्नेगर्थे । दुबैजनासँग राम्रो साथी बनियो । सँगसँगै थुप्रै अनुभव बटुल्न पनि पाइयो ।
दोस्रो परिक्षा अघि शुभश्री पाण्डे र म, एरिगा खड्कासँग के.एस.एल. पनि गएका थियौँ । साथमा कक्षा १२ कै श्रीतिका धामी र आशिष थापा समेत कक्षा ११ कै मित्र रेगन फडेरा पनि थिए । दुई समूह भएर वादविवाद प्रतियोगितामा पुगेका हामीलाई एकअर्काको संसर्गमा अनुभवको फलप्राप्ति भयो । आफ्ना समूहका बाँकी दुई सदस्यहरूका तर्क पनि सुनियो । हुन त यौटै उमेर समूहका उनीहरू शिक्षामा म भन्दा एक वसन्त ज्येष्ठ थिए । उनैका मुखबाट कानूनका नयाँ कुरा सिकेपछि म पनि मक्ख परेँ ।
अतिरिक्त क्रियाकलापमा पनि चासो राख्ने मान्छे म, दाजु दीप सुवेदी ‘द अर्डर्स क्लब’को ‘प्रेसिडेन्ट’ हुँदा उक्त क्लबको ‘भी.पी.पी.आर.” थिएँ । क्लबले इभेन्ट आयोजना गर्दाका बखत उहाँकै छत्रछायामा रहेर नेतृत्वको क्षमतालाई उँभो लगाउने अवसर मिल्यो । यही प्रसङ्गको कुरा गर्दा सुवेदी सरले मलाई लगाएको एउटा रमाइलो गुन बताउन मन लाग्यो । क्लबको सर्टिफिकेटमा ‘अर्चितबाबु मर्सिफुल’ नाम राखिदिएको ।
यी बाहेक अन्यसँग पनि समय बिताइयो । स्नेहा श्रेष्ठ, ऋद्धिमा मानन्धर, प्रशान्त श्रेष्ठ, रश्मिला रानाभाट, आदि अन्य पनि मेरा मित्रहरूको सूचीमा थिए । केहि रमाइला पात्रहरू अरू पनि छन् । बौद्धिक क्षमताको सन्दर्भमा अरू दुईजनाको सम्झना भयो । श्लोक भण्डारी प्राविधिक जानकारीले सम्पन्न थियो, र शुभम भण्डारी पौराणिक ज्ञानले धनी । यी दुई भण्डारी समेत अन्य पनि थिए जसका विचार मेची र महाकाली जस्तै जोडिएका हुन्थे । तर, विचारमा विविधताका बावजूद सिँगो बथानका बिचमा भने तुक मिलेको थियो । ‘लिगल फ्र्याटरनिटि’को बन्धुत्व उदाहरणीय नै थियो । यसै सिलसिलामा तेस्रो भण्डारीको कुरो बताउन चाहेँ । दसैँ अघि आयोजित कविता प्रतियोगितामा श्रेयसी भण्डारी र म, क्रमशः द्वितीय र तृतीय भएका थियौँ ।
यी त औपचारिक कुरा मात्र भए क्यारे! पाण्डेजी, सुवेदी सर, र बाँकीका भण्डारी समेत अन्यसँग बेलाबखतमा घुमघाम गरेका विगत पनि छन् । उपत्यकामा भर्खरै पालेको मोफसलको नागरिक मलाई यहाँका गल्ली र परिकारसँग परिचित गराउने पनि उनै हुन् । निकै मिलनसार र सहयोगी स्वभावका सबैजना, हाम्रो मार्गदर्शक थिए र हुन् । उनीहरूको अनुभवलाई बुझेर हामीले आफ्नो युनिग्लोबको पढाइको पहिलो वर्षमा प्रयोग गरेका हौँ । हामी अर्जुन थियौँ, उनीहरू कृष्ण । कुरुक्षेत्रमा बिताएको यो संवत्सर स्मरणीय रह्यो ।
अन्ततः समयको पाङ्ग्रा घुमेर पहिलेकै स्थानमा आइपुग्यो । साथीहरूबाट छुटेर यता आएको म, अब साथीहरू मबाट छुटेर जान थालेको देख्दैछु । हुन त एक तह मास्तिर जाँदैछन्, बी.ए.एल.एल.बी.मा अवश्य भेट हुन्छ होला । जानुअघि थेरै थोक सिकाएर जाँदैछन् । हामीबाट पनि केही कुरा सिके कि? यस्तै मनका सवाल बर्साउने र सम्झना पोख्ने भनेर आज फेरि कलम चलाएको हुँ । उनीहरू जानुअघि ‘एम टु’ले तयार गरेको किताबमा लेख्न पाइयो । उनीहरूको जग्गामा मेरो बाली उब्जन पायो, सौभाग्यको कुरो हो । सम्पादक पाण्डेजीप्रति आभार व्यक्त गरेँ है । अनि अँ, केही दिन अघि धेरै मित्रहरूको कमिजमा मसी पोख्न नपाएको रहेछु भने यसै कागजलाई आफ्नो कमिज मानिदिनू है । “विद्वान मित्रहरू, कुनै दिन न्यायालयमा भेटौँला !”
Click Here For A Novel: Panchamani By Architbabu Merciful
लेखक: अर्चितबाबु मर्सिफुल