आँखा बन्द थिए मेरा तर यी कानहरुले त्यो हुलको बिचबाट आएका हरेक शब्द अनि मन पोल्ने वचनहरु प्रष्टै सुनिरहेका थिए। त्यहाँ भएका हरेक मानिसको उपस्थिती यो आत्माले महशुस गरिरहेको थियो। म त्यो हुलको बिचमा थिएँ। कयौँ मानिसहरुको भिडले घेरिएकी थिएँ म। मेरो छेउमा मानिसहरुको रुवाईको आवाज प्रष्टै थियो। त्यो लाखौँको भिडमा कोही सान्त्वना दिँदै थिए, कोही तमासा हेर्दै थिए अनि कोही पोलिरहेको घाउमा नुन थप्दै थिए। त्यो दन्किरहेको आगोमा घ्यू थप्न प्रयत्न मानिसहरुको सङ्ख्या पनि त्यो ठुलो हुलमा कम भने पक्कै पनि थिएन।
मेरो छेउमा मेरी आमा मेरो हात समातेर रुँदै थिइन्। आफ्नै मन सम्हाल्न नसक्नुभएका मेरा बाबा त्यो भारी मन लिएर आमालाई सम्हाल्न खोज्दै हुनुहुन्थ्यो। उहाँहरुको छेवैमा बसेर जीवनको अर्थ पनि नबुझेको मेरो सानो भाइ दिदी खोज्दै रुँदै थियो। एक छेउ मा आमा रुँदै हुनुहुन्थ्यो अनि अर्को छेउमा मेरो सानो भाइ र उहाँहरुको बिचमा कमजोर भैसक्दा पनि आफूलाई बलियो देखाउन खप्पिस मेरो बाबा। मलाई थाहा छ उहाँहरुको यो पीडाको कारण म हु। सुतिरहेको ठाउँबाट उठी आमालाई अँगालोमा कसेर “नरुनुन आमा” भन्न मन थियो। बाबाको त्यो कमजोर बनिसकेको अनि सम्हालिन नसकेको मनलाई सम्हाल्न मन थियो। भाइलाई “दिदी यतै त छे” भनेर काखमा बोक्न मन थियो। तर मलाई थाहा छ यी सबै अब केवल मेरो कल्पनामा मात्रै सिमित रहने छन्। यी चाहनाहरु केवल मेरो मस्तिस्कमै सिमित रहने छन्।
जीवन अमूल्य छ भन्छन्। तर यो अमूल्य जीवन मेरालागि कुनै अर्थको भएन किनकि मैले त जीवनलाई पूरै नियाल्न पनि पाइनँ। भर्खरै जिन्दगीका १२ वर्ष नियालेकी मैले त न जिन्दगीको अर्थ नै बुझेकी थिएँ न त मैले जिउनुको कारण नै खोजेकी थिएँ न त जिन्दगीलाई नजिकबाट देखेकी नै थिएँ। जिन्दगीका यी खुड्किलाहरुमा भर्खरै चढाई सुरु गरेकी मैले चढ्न अझै धेरै बाँकि नै थियो तर म त बिचैमा थाकेछु या भनौँ ती खुड्किलाहरुको लामो श्रीङ्खला देखेर बिचैमा हार मानेछु। लाखौँ सपना अँगालेकी मैले ती सपनाहरु साँचो अर्थ दिने बाटोमा भर्खरै हिँड्न सुरु गरेकी थिएँ तर सायद त्यो बाटोका खाल्डाहरुसँग म डराउन पुगेछु। त्यही त्रासले सायद मलाई ती खाल्डाहरुमा पुर्न पुगेछ। जिन्दगीलाई नियाल्न खोज्दाखोज्दै सायद जिन्दगीको तितो यथार्थ बुझेर यी कानहरुसँगै आँखाहरु पनि बन्द गर्न पुगेछु। दुःखका यी काला बादलहरुलाई चिरेर सुखको वर्षा गर्न खोज्दाखोज्दै सायद मेरो हातमा रहेको त्यो अस्त्र नै हराएछ। मेरो जीवनको कथा लेख्न भनी प्रकृतीले दिएको त्यो मोटो कापी मैले भर्न सकिनँ। मैले केवल केही पाना मात्रै रङ्गाउन भ्याएँ। त्यो पूरै कापी रङ्गाउने समय मैले पाइनँ। मलाई त्यो कापी भर्नकालागि त दिइयो तर समय भने दिइएन। जीवन त दिइयो तर त्यो जीवन नियाल्न भने दिइएन। अपुरो जीवनलाई बिच बाटोमै छोडेर म भागेँ, कुनै त्रासले होइन सायद मलाई यस धर्तीमा पठाउनेलाई नै अहिले मेरो खाँचो भयो होला।
छेउमा बजिरहेको शङ्खको आवाज अनि मेरी आमाको आँशुले मेरो मन पोलिरहेको छ। मलाई थाहा छ मेरो यो पोलिरहेको मनसँगै मेरो शरीर पनि पोलिनेछ। मेरो शरीर अबको केही छिनमै खरानि हुने छ। म अब माटोमा बिलाउनेछु। गोलो घेरा बनाएर बसिरहेका मानिसहरुको हुल। छेउमा शङ्खको आवाज। मेरो हात समातेर रुँदारुँदै बेहोस भएकी मेरी आमा। आफ्नो सम्हालिन नसकेको मन लिएर आमालाई सम्हाल्न खोजिरहनुभएका मेरा बाबा अनि छेवैमा दिदी खोजेर रोइरहेको मेरो भाइ। उहाँहरुकोबिचमा बाँसको ओछ्यान बनाएर सेतो कपडाले मुख ढाकेर कहिल्यै नबिउँझिने गरी सुतिरहेकी म।
लेखक: पुर्णिमा जोशी, बिज्ञान, एफ १