मदनमणि दीक्षितद्वारा रचिएको कथा विरहिणी दमयन्तीको समापन गर्दै म अर्चितबाबु मर्सिफुलले मिति २०८० श्रावण १३ गते राजा नलको दृष्टिकोणबाट “दमयन्तीको खोज” शीर्षकको लघुकथा लेखेको छु ………………………………।
कर्कोटक नागहरूको गाउँबाहिरको घनघोर जङ्गलबाट साथ छुटेकी रानी दमयन्तीसँग निषधराज नलको भेट नभएको पनि केही दिन बितिसकेका थियो । बेलाबखतमा महादेवले पार्वतीलाई छाडी श्लेषमानतक वनमा लुक्न आएझैँ राजा नल दमयन्तीलाई केही नभनी एक्लै परित्याग गरी हिँडेका राजाले बिछोडको केही समयपछि रानी दरबारतर्फ लागिन् होला भनेर आफू पनि त्यतै लागे ।
उता रानी दमयन्ती उनै राजा नलको खोजीमा जङ्गलको गोरेटोमा हिँड्दै पद्मसौबन्धिक तलाउ हुँदै चेदी जनपद पुगेकी थिइन् । यता लामो समयसम्म आफ्नी रानीलाई नभेटेपछि राजा नललाई फिक्री हुनथाल्यो । दरबारमा फिरिसकेका निषधराजले आफ्नो छोरा इन्द्रसेनलाई केही दिन राजकाज सम्हाल्नु भनी आफ्नी प्रियाको खोजीमा हिँडे । रुद्रको भक्ति गर्ने राजाले बाटोमा धर्मकर्म गर्दै जान भनेर केही ब्राह्मण र सुरक्षाका खातिर आफ्नो सेनाको सानो टुक्रो लिएर हिँडे ।
राजधानीबाट सबैभन्दा पहिले कर्कोटक नागहरूको गाउँबाहिरको घनघोर जङ्गलमा पुगेर राजा नलले रानीलाई खोज्न थाले । चारैतिर हरियो मात्र भएको त्यो जङ्गलमा कतै रातो साडीमा सजिएकी सुन्दरी दमयन्ती देखापर्छिन् कि? भनेर राजा नल भौँतारिए । पत्नीवियोगमा निषधराजले त्यो एकान्त वन खोजेर भ्याए र नजिकका अन्य राज्यमा खोजी गर्नथाले ।
सधैँ सुखसयल गरेर बसेकी ऊ आज कहाँ होली? के भोजन गरी हो? जङ्गलका हिंस्रक जीवजन्तुले केही गरे कि? यस्ता नानाथरी प्रश्नहरूले निषधराजको हृदयलाई कोमल र कमजोर बनाउँदैथिए । रानीलाई केही भएको भए कसरी आफूलाई त्यो पापबाट मुक्त गर्नु भनेर राजा चिन्ता गर्दै थिए । अनेक युद्धमा पराक्रम देखाउने राजा आज भावुकतामा लीन थिए ।
राजा नल र केही सिपाहीको समीपमै उक्त भयावह जङ्गलमा यात्रा गरिरहेका ब्राह्मणहरूलाई भने डरले सताइरहेको थियो । आफ्नो राजा समेत व्याकुल भएको अवस्थामा ती ब्राह्मणहरूले विभिन्न वैदिक मन्त्र गुनगुनाउँदै अघि बढे । यात्राकै क्रममा उनीहरूले चेदी जाने भनेर निर्णय लिए र बाटो बदलेर चेदी जनपदतर्फ लागे । अलिपर पुगेर दोबाटो भेटियो । बाँयातिर पद्मसौबन्धिक तलाउ पर्दथ्यो । निषधराजको टोली दायाँको बाटो अघि बढे ।
यसैक्रममा बाटोमा दुई नारी भेटिए । राजा नलले पनि कुरुप र बौलाहीजस्ती दमयन्तीलाई ठम्याउन सकेनन् । ती मध्ये रगतका टाटा लागेको मैलो कपडा लगाएकी स्त्रीलाई देखेर ब्राह्मणहरूले यी आइमाई डाइनी हुन् भनेर झनै जोरसित वैदिक मन्त्र गुनगुनाउन थाले । कोही कसैसँग बोलेनन् । सबै आआफ्नो बाटो लागे । केहीबेरमै राजाको टोली छुट्टिएर अर्कै बाटो चेदी पुग्यो ।
उनीहरूले चेदी जनपदको नाकामा रहेका सबै बस्तीतिर खोज गरे । दमयन्तीलाई भेटाएनन् । कसैलाई सोध्ने क्रममा पनि रानीको हुलिया शाहीशैलीको बताउने गर्दथे । कसैले पनि त्यस्ती रानीलाई केही दिन अघि जनपदमा प्रवेश गरेकी बौलाही जस्ती स्त्रीसँग तुलना गरेनन् । खोज जारी रह्यो । दमयन्ती भने आफ्नी ठूलीआमा सुनन्दाको घरमै परिचय लुकाएर बसेकी थिइन् ।
एकदिन सुनन्दाका पति चेदिराज सुबाहुलाई निषधराज नल आफ्नो जनपदमा आएर बसेको जानकारी भयो । उनले राजालाई आफ्नो पाहुना हुन आग्रह गरे । राजा नलले पनि सुबाहुले रानी दमयन्तीको खोजीमा सहयोग गर्लान् भन्ने अपेक्षा लिएर उनको घर गए । चेदी नगरमा राजा नल आएको कुरा कुनै तरिकाले दमयन्तीलाई थाहा भयो । राजा नल पनि सुनन्दाका घर आइपुगेका रहेछन् । यो समयमा आफ्ना तीनै सर्तलाई भूलेर रानी दमयन्ती बैठक कक्षमा गइन् ।
सुबाहुले राजा नलको सत्कार गर्दै थिए । राजा नलको नजर रानी दमयन्तीमा पर्यो । रानी पनि राजालाई देखेर हर्षित भइन् । राजा नल आसनबाट उठे । रानी दमयन्ती पनि राजा भएतिर अघि बढिन् । दुबैजनाको अन्ततः भेट भयो । राजा नलले रानीसँग क्षमा मागे । दुबैले राजा-रानीले अङ्कमाल गरे । यो सबै देखेर आफ्नी बहिनीकी छोरी भनेर समेत थाहा नभएकी ती स्त्री त रानी रहिछन् भनेर सुनन्दा पनि दङ्ग परिन् ।
धेरै राम्राे साथी
मैँले अपेक्षा गरेकाे भनेकाे ची राजाले केही उपाय नदेख्दा अन्तिममा नल ले एउटा सुन्दरी प्रतियाेगिता गर्दा अन्त्यमा भेट गर्नुहुनेछ भन्ने साेच थियाे तर जे हाेस् कथाकाे गणेश स्रि राम्राे लाग्याे ।